Thursday, August 22, 2013

धर्म, राज्य र राज्य धर्म - इतिहास र वर्तमान - २

अक्सर धर्मको कुरा गर्दा धर्म वैयक्तिक कुरा हो वा यो सांगठनिक, राजनैतिक वा राजकीय मामिला समेत हो भन्ने कुराले नै यसका बारेमा उठ्न सक्ने धेरै जसो विवादहरूको सीमांकन गर्न सक्छ । यदि, धर्म नितान्त वैयक्तिक विषय हो भने यो व्यक्तिमा सीमित हुन्छ र त्यसले धेरै विवाद ल्याउँदैन । कुनै व्यक्ति कुनै पनि धर्म मान्न वा नमान्न स्वतन्त्र रहन्छ भन्ने सहज विचारलाई स्वीकार्ने हो भने धर्मजनित अधिकांश विवाद र कलहहरूको शुरूवात नै नहुन सम्भव छ । तर, संसार यति धेरै सहज र शान्त छैन, धर्मको मामिलालाई लिएर । त्यसैले नै संसारको अहिलेसम्मको इतिहासमा धर्मलाई लिएर लडिएका लडाइँहरूमा जति मानव रगत बगेको छ त्यति सायदै कुनै अर्को विषयलाई लिएर बगेको होला । अधिकांशत:, धर्मले व्यक्तिलाई स्वतन्त्र हुन छूट दिँदैनन् किनभने धर्मसंग कर्तव्य, संस्कार, प्रथा, परम्परा, समाज र राज्य पनि जोडिएर आउने गर्छन् । यही कारण हो , धर्मसम्मत् वा धर्म प्रधान भएका र धर्मसंग अलग वा धर्म निरपेक्ष रहेका समाज र राष्ट्रमा समेत धार्मिकताको विषय आज पर्यन्त अत्यन्त पेचिलो प्रश्न बनेर रहिआएको पाइन्छ । आफ्नो स्थापनाको ऐतिहासिक कालदेखि नै विशेष गरी इसाई र इस्लाम धर्मले राज्य र सत्ताको संरक्षणमा विस्तारको मुहिम चलाए । कतिपय अवस्थामा ती ऐतिहासिक मुलुकहरूमा धर्म र राजनीतिको मीयो एकै ठाउँमा हुने गर्थ्यो । त्यति बेलाका देशहरूमा,  चर्च, पोप, मुफ्ती, र मुल्लाहहरूले शासन चलाएको पनि पाइन्छ भने राज्यसत्ता र धार्मिक सत्ताबीच मनोमालिन्य, संघर्ष र युद्धहरू बेलाबखत उत्कर्षमा पनि पुगेका हुन्थे , अनेकौँ  रक्तरंजित घटना घटित हुन्थे । सत्ता श्रेष्ठताका अनगिन्ति द्वन्दका घटनाहरू इतिहासमा पढ्न पाइन्छ । यसो हुनुको धार्मिक आधार पनि छ ।
****************************************************************************
आदिकालदेखि वर्तमान संसारसम्म आइपुग्दा, संसारमा धर्म नमान्ने अनिश्वरवादी non-believers ; नास्तिक atheist ; धर्मका बारेमा जानकारी छैन भन्ने  agnostic ; प्रकृतिका घटकलाई पूज्ने   animist ; अनि लामा, धामी, झांक्री मान्ने  shamanist ; पितृ पूज्ने Ancestors worshippers  सम्प्रदायहरू ,  पंथ cults   असंख्य कबिला tribal जीवन शैलिका अनुयायीहरूको संख्या पनि करोडौँमा पुग्छ । उता  Bahai scientology  , Interfaith  जस्ता अत्याधुनिक मतहरू पनि अस्तित्वमा छन् । तर मुख्य धर्म समूहलाई यो वर्गीकरणमा राख्न सकिन्छ:
आधुनिक संसारमा भएका धर्महरूलाई तिनको उत्पत्ति, प्रभाव र प्रकारका आधारमा मुख्य ३ वटा समूहमा बिभाजन गरेर हेर्न सकिन्छ ।
(१) Brahmic / Indian Religions: आदि ब्रह्ममा विश्वास गर्ने   हिन्दू, बुद्ध , शिख, जैन र अन्य भारतीय उपमहाद्वीपका धर्म वा मतहरू । यी धर्महरूले मानिस जन्मसिद्ध आफ्नो धर्ममा जन्मिन्छन् भन्ने मान्ने हुँदा यहाँ धर्मान्तरण कहिलै प्राथामिकतामा थिएन ।  तर, धार्मिक विद्वानहरू बीच शास्त्रार्थ भए पछि पराजितले विजेताको विश्वासमा दिक्षित हुनुपर्ने र विजेता शाषकले पराजितहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष आफ्नो परम्परा र धर्मप्रति सम्मान र भक्ति दर्शाउन उर्दी लगाएका ऐतिहासिक सन्दर्भ पाइन्छन् । 
(२)  Folk or East Asian Religions:  प्रकृति, आत्मा र पितृपूजक वा अवतारी लामा धर्महरू । यी परम्परावादी धर्महरूको प्राथामिकता संस्कार र रूढीको मान्यतालाई मान्ने भएको हुँदा यहाँ सगठित धर्म प्रचार र धर्मान्तरण कहिलै आवश्य नै ठानिएन ।
(३)  Abrahamic Religions: पौराणिक पुरूष अब्राहमलाई आदि पिता मानेर तिनका सन्ततिले संसारको उत्तराधिकारी हुने अधिकार परमेश्वरबाट प्रत्याभूतिको रूपमा पाएका हुन् भन्ने विश्वास गर्ने धार्मिक मत जसमा यहुदी, इशाई (क्रिश्चियनिटी) र इश्लाम (मुसलमान) धर्महरू पर्छन् , यी ३ धर्मलाई सेमेटिक धर्महरू पनि भन्ने गरिन्छ । मुसलमानहरूले आँफू अब्राहम र उनकी सुसारे ह्यागरबाट जन्मेको जेठो सन्तान ‘इस्माईल’का सन्तति भएको र इसाईहरूले आँफूहरू अब्राहम र उनकी श्रीमती साराको वैध सन्तान ‘आइज्याक’का सन्तति भएको हुँदा, परमेश्वरको भविष्यवणी अनुसार यो संसारका सच्चा उत्तराधिकारी उनीहरू आँफू मात्र भएको दावा गर्छन् । उता मुसलामानहरूले पनि त्यही दावा गर्ने गर्छन् । यही कारणले, धर्म विस्तार अथवा धार्मिक विस्तारवादको चाहना राख्ने आधुनिक संसारका यी २ धर्म Abrahamic  Religion का दाजु-भाइ Christianity   Islam नै हुन् । आदि पिता अब्राहमलाई मान्ने सबैभन्दा पुरानो धर्म यहुदी Judaism (Jewish Religion) ले धर्म विस्तार र प्रचारलाई प्राथामिकतामा राख्दैन । तर  अब्राहमिक धर्म परिवारका  आधुनिका संसारका सबैभन्दा ठूला २ धर्म इसाई र इश्लाम धर्म आफ्नो प्रचार (proselytize ) र धर्मान्तरण ( conversion ) लाई सबैभन्दा महत्व दिने र सो कामका लागि सबैभन्दा बढी लागिपरेका  धर्म हुन् । त्यही अहमका लगि सबैभन्दा ठूला धार्मिक युद्धहरू पनि यिनै दुई धर्मले लडेका छन्।

आधुनिक इश्लामका संस्थापक साउदी अरबको मक्कामा सन् ५७० मा जन्मेका मुहम्मद थिए । उनी अनुयायीका विश्वास अनुसार ‘अल्लाह’ का एक मात्र ‘पैगम्बर’ ( prophet of God )  थिए । इश्लामले आँफू बाहेक अरू सबै धार्मिक मत अधर्म हुन् भन्छ । इश्लाम अनुसार प्रतेक मान्छे जन्मँदा मुसलमान हुन्छ तर , उसका मातापिता, अभिभावक र समाजले उक्त वालक वा वालिकालाई इश्लामबाट पथभ्रष्ट पार्न सक्छन् । अत: उसलाई , इश्लाम कबूल गराएर ‘वापस ल्याउनु’ वा प्रत्यावर्तन गर्नु पर्छ भनेर इश्लामले आफ्ना अनुयायीहरूलाई सिकाउँछ । त्यसैले मुसलमानहरू कुनै मानिसलाई धर्मान्तरण गरेर आफ्नो धर्ममा ल्याउने कार्यलाई   ( conversion) भन्दैनन् बरू  यस खालको व्यक्तिलाई  Revert  र यो प्रकृयालई  Reversion  हो भन्ने बुझ्छन् । यो कार्य गर्नु कुनै पनि मुसलमानका लागि अल्लाहप्रतिको अत्युत्तम सेवा हो । इश्लाम संख्याका आधारमा अहिलेको संसारको सबैभन्दा दोस्रो ठूलो धर्म बन्न पुगेको छ । इश्लाम कति जुझारू र लडाकू छ देखिएको पनि छ । इश्लाम भित्र सुन्नी, सिया, मोहम्मदन, आदि सम्प्रदायहरू छन् भने हनाफी, हनाबी, इबादी र वहाबी जस्ता उप-सम्प्रदाय पनि । साउदी अरब र यत्रतत्र देखिँदै आएको Wahabi  अनुयायीहरू बढी कट्टरताका पक्षधर हुन् ।

इसाई धर्ममा पनि रोमन क्याथोलिसिज्म, प्रोटेस्टेण्ट, प्रोटेस्टेण्ट भित्रका लुथरान मतहरू, एङ्लिकन चर्च अर्थोडक्स चर्च, मोर्मन चर्च, येहोबाज विट्नेस आदि हाँगाहरूमा बिभक्त भएपनि, समग्र इसाई धर्मले आफ्नो धर्ममा नरहेका मानिसहरू ईश्वरको अनुग्रह प्राप्त गर्न नसक्ने पापीहरू भएकाले तिनीहरूको उद्धार र पापमोचनका लागि सच्चा इसाईको रूपमा धर्मान्तरण अनिवार्य छ भन्छ। त्यसैले, इसाई मतले “ जाऊ, सबै अरू धर्मको मिथ्यामा रमाएका अधर्मीहरूलाई तिम्रो धर्मको आलोक देखाएर धर्मान्तरण गराऊ” भन्दै आफ्ना अनुयायीहरूलाई सुर्‍याउँछ ।
****************************************************************************
Christianity  Islam ले आफ्नो विस्तारका क्रममा सन् ६३७ देखि १४ औँ शताब्दिको बीचमा अनेकौँ खुद्रा युद्ध र धर्मयुद्धहरू ( Holy Crusades) लडेका थिए । १५ औँ शताब्दिमा शुरू भएको  युरोपेली पुनर्जागरण (Renaissance) काल र उनीहरूले गरेको नाभिकीय  ( navigational)  क्षमता विस्तारको चमत्कारी विकासले,  युरोपेली हरूको प्राथामिकतामा धर्म कम महत्वको तर व्यापार – वाणिज्य, धन आर्जन र उपनिवेश विस्तार मुख्य हुन पुग्यो । रिनेसाँ वा पुनर्जागरण आँफैमा परम्परा र धर्ममाथि मानवीय क्षमताले विजय हासिल गर्दै जानुको कारण र  परिणाम दुबै   थियो । धर्मले सदियौँदेखि मान्छेलाई उसको निरिहताको पाठ पढाउँदै आएको थियो । धार्मिक शक्तिका केन्द्र रूपी चर्च र मान्छे जातिले ईश्वर खोज्ने वा प्राप्त गर्ने क्रममा माध्यम मानिने पोप र पादरी जस्ता धर्मगुरूहरूले मान्छेलाई सँधै उसको क्षमता बिहीनतामा दया गर्दै ईश्वरको खोजी गरिदिने कार्य गर्दै आएको ईश्वर केन्द्रित विश्वासको संसारमा पुनर्जागरण कालरूपी युरोपेली लहरले अभुतपूर्व उलटफेर ल्यायो । धर्मले बाँधेका संकूचनयुक्त निरिहता र मानवीय लघुताभासको धर्मान्ध सोचमाथि, अदम्य मानवीय साहस र क्षमतको उद्वोधन र विजय थियो पुनर्जागरणकाल । अचानक, आफ्नो क्षमता बढेको महशूस गर्न थालेका युरोपेलीहरूलाई अब आफ्नो महादेश साँगूरो लाग्न थाल्यो । तिनीहरू ठूलाठूला पानीजहाजमा निडर अनि साहसी नाविक खोजकर्ताहरू राखेर नया संसारको खोजीमा हिँडे । शुरूमा, पुर्तगाली र स्पेनिश पानीजहाजहरू अघी बढे पनि छिटै बाँकि युरोपका सबै जसो देशले तिनको देखासिकी गरे, पछ्याए र तिनलाई जिते । अन्त्यमा, बेलायतले औपनिवेसिकताको यो प्रतिस्पर्धामा सबैलाई पछाडि पार्‍यो ।

युरोपेली राष्ट्रहरूले गरेको साम्राज्य विस्तारको प्रमुख उददेश्य धन/ वैभव आर्जन गर्नु भए पनि, यसका धेरै सह-उत्पादनहरू थिए । साथसाथै, राजनैतिक, आर्थिक र सामरिक शक्ति विस्तारको यो साम्राज्यवादी सैन्य समूहमा धेरै ठूलो संख्यामा हातमा बाइबल लिएर धार्मिक र सांस्कृतिक प्रभाव विस्तारमा हिँडेको पादरी पल्टनको योगदानलाई कुनै अर्थमा कम आँक्न मिल्दैन । तर , बाँकि संसारलाई इसाईकरण गर्न खोज्ने यो युरोपेली मुहिममा, बेलायतीहरू बाँकि युरोपेली भन्दा उदार र कम हस्तक्षेपकारी थिए । बेलायतीहरूले अरू धर्म र संस्कृतिको संवेदनशिलतालाई सम्मान गरेको पाइन्छ । धर्मान्तरणको काममा  युरोपको मुख्यभूमि mainland Europe का देशहरूले प्रमुख भूमिका खेलेको पाइन्छ । उदाहरणका लागि, भारतीय उपमाहद्वीपदेखि अहिलेको सिंगापुरसम्म शासन जमाएको ब्रिटिश इष्ट इण्डिया कम्पनी अन्तर्गत मुलुकहरूमाका ३ शताव्दिमा इसाईकरण नगण्य देखिन्छ जबकि स्पेनले त्यही अवधिमा (३३३ वर्षमा) पूरै फिलिपिन्सलाई रोमन क्याथोलिक मतावलम्बी बनाएर छाडिदियो । पुर्तगाली प्रभावको इष्ट टिमोर जुन कालान्तरमा इण्डोनेशियाबाट छुट्टियो त्यो अर्को उदाहरण हो । इण्डोनेशिया र मलेशियामा सानै संख्यामा भए पनि जति इशाई भए, ती डच औपनिवेशिक कालका उदाहरणहरू हुन् । त्यस्तै प्रभाव भारतको गोवामा ( पुर्तगाली उपनिवेश ) देख्न सकिन्छ । (क्रमश……. )

No comments: