(यो लेखको आशय राज्य वा धर्मको औचित्य पुष्टि गर्नु हैन । बरू , अतितदेखि वर्तमानसम्म धर्महरू कुन रूपमा समाज, राष्ट्र र विश्वव्यापी रूपमा प्रभावशाली रहिरहेका छन् देखाउने प्रयास गर्नु हो )
इतिहासकारका मत अनुसार अनि अनुयायीहरूका विश्वास अनुसार , ईशा पूर्व ( उनकै नामको संवत् गणना, ग्रेगोरियन क्यालेण्डर ) ४ सालमा जिसस् जन्मिएको विश्वास गरिन्छ । उनलाई त्यतिबेला कायम रहेको यहुदी धर्म र समाजका युवाहरूलाई भ्रष्ट पारेको आरोपमा क्रसमा
झुण्ड्याएर फाँसी दिइँदा वा उनले निर्वाण प्राप्त गर्दा जिसस्
३३ वर्षका युवा थिए । उनको निर्वाण प्राप्ति पश्चात, उनको सन्देश लिएर संसारभर
त्यसलाई फिँजाउन हिँडेका अनुयायी र सन्तहरूले आफ्नो सेवामूलक सादगीपूर्ण जीवन र
विनयशिल आचरणलाई धर्मप्रचारको तरिका बनाए । यता,
जिसस जन्म पछिको छैटौँ शताब्दिमा उद्भव भएको इस्लाम भने शुरूवाती दिनदेखि
नै ‘जेहादका’ साथ आफ्नो विस्तारमा देखा पर्यो । जेहादले मानसिकदेखि भौतिक विधिको
उपयोगलाई समेत सो प्रभाव विस्तारका लागि उचित ठहरायो । समसामयिक संसारमा, इसाई र
इस्लाम ( तिनका सम्प्रदाय, शाखा, प्रशाखा सहित ) क्रमश: संख्यात्मक भूगोलका सबैभन्दा ठूला संगठित
धर्महरू हुन् । युरोपले इसाई धर्मको नेतृत्व गर्यो र कालान्तरमा आफ्नो साम्राज्य
विस्तारका क्रममा आँफू शासित स्थानका जनसंख्या माथि इसाईकरणको उपहार दिएर छोड्यो भने अरबहरू
मुसलमान धर्मका पालक, अभियन्ता र प्रचारक बने । जहाँ ती दुबै पुगेनन्, त्यहाँ यी
दुबै धर्महरूको गहिरो छाप परेन । त्यो संसार पनि बाँकि छ । दोस्रो विश्वयुद्ध पछि प्रत्यक्ष उपनिवेशवाद हरायो तर, धार्मिक औपनिवेशिकता
भने अनेक रूपमा जाग्रत बनिरह्यो । पहिला अछूत रहका जापान, कोरिया, मंगोलिया र
मंचुरिया, क्याम्बोडियासम्म मिशन लिएर यो अघि बढ्यो । २१ औँ शताव्दिको यो क्षणमा आइ पुग्दा, संसारका
अन्य भूभागहरूमा हिन्दू, बुद्ध, यहुदी, एनिमिज्म र अन्य धर्महरूका अलावा लगभग आधा
जनसंख्या एग्नोष्टिक र नास्तिकहरूको पनि रहेको भेटिन्छ । कतिपय देशहरूले संवैधानिक
रूपमा नै आँफूलाई अमूक धर्म प्रधान मुलुकको रूपमा घोषणा गरेका छन् भने अरू
मुलुकहरू धर्म निरपेक्ष छन् । धर्मलाई कार्ल मार्क्सले ‘अफीम’ को संज्ञा दिएका
कारण र कम्युनिज्मले आँफूलाई चरम भौतिकवादमा विश्वास गर्ने द्वन्दवादी बताउने भएकाले कम्युनिष्ट
मुलुक धर्म प्रदान हुँदैनन् ( क्याम्बोडिया अहिलेको अपवाद हो ) भन्ने गरिएको हुन्छ । तर पछिल्ला दशकहरूमा, यो चिन्तनमा ठूलो अपचलन देखिसकिएको छ। आँफू बाहेक अरू बेठिक भन्ने कट्टर
चिन्तनबाट निर्देशित हुने हुँदा, कम्युनिज्म स्वयंमा एउटा धर्म बनेको छ भन्ने खालको व्यंग्य गर्ने गरिन्छ । धर्म निरपेक्षताको आशय राज्यले कुनै धर्म
विशेषलाई अँगाल्नु र पर्गेल्नु हुन्न भन्ने मुलभूत मान्यता नै हो । धेरै मुलक
धार्मिक रूपमा निरपेक्ष नै छन् । अहिलेको
संसारमा राज्यहरू र धर्मको स्थिति यस्तो छ :
अर्जेण्टिना, लिचेस्टिन, कोष्टारिका, मोनाको, माल्टा रोमन क्याथोलिक
धर्मलाई राज्यको धर्म मन्ने देशहरू हुन् । यी बाहेक एण्डोरा, डोमिनिकन
रिपब्लिक,स्पेन, पारागुवे, पनामा, एण्डोरा, पोल्याण्ड , पेरू, एल साल्बाडोर आदि
मुलुकको संविधानले त्यहाँका वासिन्दाहरूको मुख्य धर्म रोमन क्याथोलिकलाई विशेष स्थान
दिएको छ । त्यसै गरी, ग्रीस र जर्जियाले इसाई धर्मको अर्थोडक्स मतलाई राज्यको
धर्मको रूपमा स्वीकार गरेका छन् । फिनल्याण्डको संविधानले फिनिस
अर्थोडक्स चर्चलाई विशेष स्थान दिन्छ । यता डेनमार्क, आइसल्याण्ड र नर्वेले
प्रोटेष्टेण्ट मतको लुथरान चर्चलाई राज्यको धर्मको रूपमा महत्व प्रदान गरेका छन् ।
स्वीडेनले गरेको २०११ जनगणनामा ६६% लुथरानहरू मध्ये जम्मा २०% ले मात्र आँफू धार्मिक
रहेको बताए पछि चर्च अफ स्विडेनको आधिपत्य कमजोड बन्यो । राज्य धर्मको स्तरबाट
चर्च अफ स्वीडेनलाई घटुवा गरी राष्ट्रिय चर्चको स्थान मात्र दिइयो । यसै गरी
स्कटल्याण्डमा चर्च अफ स्कटल्याण्डलाई सर्वोच्च मान्यता प्राप्त छ भने र
इङ्ल्याण्डमा एङ्लिकन चर्चको अभिभावकत्व त्यहाँका रानी वा राजाको नाममा हुने गर्छ ।
उनलाई धर्मको संरक्षक वा संरक्षिका मानिन्छ ।
यसै गरी , इराक, पाकितान, अल्जेरिया, अफगानिस्तान, बांग्लादेश,
कोमोरस, ब्रुनाइ, मलेशिया, इजिप्ट, जोर्डन, मलेशिया, माल्दिब्स, मोरिटानिया,
मोरक्को, कतार, साउदी अरेबिया, ट्युनिशिया, सोमालिया, युनाइटेड अरब इमिरेट्स,
कुवेत, बहराइन र यमन यस्ता देशहरू हुन् जहाँ इस्लाम राज्यको घोषित धर्म हो ।
इरानमा सिया मुसलमान, ओमनामा इबादी मुसलमान धर्मलाई राज्य धर्मको रूपमा स्थान प्राप्त छ । इरान त एउटा थियोक्रेटिक ( सर्वोच्च शाषक नै अनिर्वाचित धर्म गुरू भएको ) सिया मुसलमान राष्ट्र हो ।
यी बाहेक, क्याम्बोडियामा थेरावद बुद्ध धर्म, भुटानमा बज्रयान बुद्ध
धर्मलाई राज्य धर्मको रूपमा मान्यता प्राप्त छ भने , श्रीलंका र थाइल्याण्डमा
बुद्ध धर्मलाई नै राज्यको विशेष स्थान प्राप्त छ । इजरायल संसारको एक्लो यहुदी
धर्म प्रधान मुलुक हो । इण्डोनेशिया संसारमा सबैभन्दा धेरै मुसलमान जनसंख्या भएको
मुलुक भए पनि, यहाँ ६ वटा धर्मलाई राज्यका धर्महरूको रूपमा स्थान छ । तर, हालैका
वर्षहरूमा इश्लामले यहाँ राज्य धर्मको अघोषित मान्यता पाइसकेको आरोप लगाइने गर्छ ।
अधिकांश धर्म प्रधान मुलुकहरूमा धर्म प्रचार र धर्मान्तरणलाई अवैध र दण्डनीय
मानिन्छ । हाल आएर, कतिपय युरोपेली मुलुकहरूको मानव अधिकार काननूनप्रतिको
प्रतिवद्धता र तिनले अपनाएको विश्वमान्य मानवीय स्वतन्त्रताको सन्धिहरुका कारण पनि
व्यक्तिको स्वतन्त्र रूपमा आँफूले इच्छाएको धर्म रोज्न र मान्न पाउने अधिकारलाई
स्विकार्नु र सम्मान गर्नु पर्ने वाध्यता आइपरेको देखिन्छ । त्यति हुँदा पनि,
धार्मिक विषयमा गरिने नीति निर्माण जस्ता कुराहरूमा त्यहाँको चर्चसंग परामर्श गरेर
नै गर्ने चलन यी कतिपय मुलुकहरूमा अद्यावधि छ । कसैको करकाप वा लोभ लालचले गर्न खोजिने धर्म परिवर्तनलाई
अधिकांश मुलुकहरूमा अवैध एवं दण्डनीय मानिएको छ । यो कट्टरता मुसलमान धर्म प्रधान
मुलुकहरूमा धेरै नै कठोर रूपमा पालना गरिन्छ ।
अमेरिका, क्यानडा, मेक्सिको, ब्राजिल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया ,
र युरोपका कतिपय मुलुकहरू धर्म प्रधान नभए पनि , तिनीहरूमा क्याथोलिक,
प्रोटेस्टेण्ट वा अर्थोडक्स चर्चलाई मान्ने जनसंख्या एकदमै ठूलो बहुमतमा बसोवास
गर्ने भएको हुँदा, कानूनले नै त्यहाँका चर्च र धार्मिक संस्थाहरूका आ-आफ्ना देश
भित्र सञ्चालन गरिने हरेक गतिविधिमा एक किसिमको विशेष सौविध्य हैसियत प्रदान गरेको
देख्न पाइन्छ । यी मध्ये केही यस्ता देशहरू छन् जहाँ राज्यले नागरिकबाट कर उठाए
जस्तै, चर्चले आफ्ना विश्वासीहरूबाट वार्षिक कर उठाउन पाउँछन् र ती कर बाट उठेको
रकममा सरकारले कुनै कर लगाउने कुरा त रहेन नै बरू चर्च वा धार्मिक बोर्डहरूले उक्त
उठती रकम कहाँ र कुन उद्धेश्यका लागि खर्च गरे भन्ने कुरामा पारदर्शी हुनु पर्ने
कुरा पनि आवश्यक ठानिँदैन । धर्म अनुयायीहरू पनि, ईश्वरको नाममा ईश्वरकै लागि
चलेका संस्था, धर्मगुरू वा धर्माधिकारीहरू द्वारा सो रकम कुन उद्धेश्यका लागि कहाँ
र कति अनि कुन प्रकारले खर्च भइरहेको छ भन्ने खोज्नु आवश्यक ठान्दैनन् वा कतै
अन्यथा भएको पो च कि भन्ने आशंका राख्नु उचित मान्दैनन् । यी कतिपय धर्म निरपेक्ष
मुलुकका नागरिकहरूलाई आफ्नो पारिवारिक नामका कारण र पारम्परिक आस्था राखिने धर्मका
लागि मन परे पनि नपरे पनि कर बुझाउने वाध्यता रहेको हुन्छ । चर्चले यिनै मुलकबाट जम्मा
हुने ठूलो रकमको धनराशीलाई आफ्ना आन्तरिक कामहरूमा तथा बाह्य मुलुकहरूमा धर्म
विस्तारका गतिविधिको लगानीका लागि प्रयोग गर्ने गर्छ । विश्वभर यस्तो दान
दातव्यबाट वार्षिक कति रकम जम्मा गरिन्छ भन्ने कुनै निर्क्योल नभए पनि , एउटा
अनुमान अनुसार यस्तो रकम १०,२० वटा गरीब मुलुकहरूका समग्र राष्ट्रिय बजेट चलाउन
सकिने अनुपातको हुन सक्छ भन्ने छ ।
एउटा अलग सन्दर्भ:
संयुक्त राज्य अमेरिकाका मुख्य दुई राजनैतिक पार्टीहरू मध्ये
डेमोक्र्याटिक पार्टी धर्मको कमै वकालत गर्ने वा गर्न नचाहने पार्टी मानिन्छ । यसैले
डेमोक्र्याटिक पार्टीलाई परम्परागत रूपमा अमेरिकामा बसोवास गर्ने काला र
हिस्प्यानिक जाति, महिला, अल्पसंख्यक , एशियाली आप्रवासी, गे, लेस्बियन, उदारवादी
हलिवुड मण्डली, नास्तिक र गैर क्रिश्चियन समूहहरूको व्यापक समर्थन रहँदै आएको छ।
तर, आफ्नो निजी जीवनमा कुनै पनि डेमोक्र्याट कट्टर इशाई हुनुले उसको पार्टीप्रतिको
वफादारितामा अवरोध उठाएको मानिन्न । अर्को पार्टी रिपब्लिकनलाई भने इसाई,
गोरा र धनी अमेरिकीहरू (बन्दूक लबी समेत) पार्टीको रूपमा नै चिनिन्छ । यो कुरालाई
त्यहाँको राजनीतिका जानकारहरू इन्कार गर्दैननन्
। इशाई धर्मले स्वीकार नगरेका बन्ध्याकरण, परिवार नियोजनका लागि प्रयोग
गरिने कृत्रिम गर्भनिरोधक साधनको प्रयोग र गर्भपतनका मुद्धाहरूमा रिपब्लिकन
पार्टीले रोमन क्याथोलिक चर्चको भ्याटिकन नीतिलाई नै समर्थन गर्ने गर्छ (यही
कारण अमेरिकी अनुदानमा विश्वभरी
चलेका गर्भ निरोधक साधन र औषधीको वितरणलाई राष्ट्रपति बुशको कार्यकालमा रकम
दिइएन र विश्व स्वास्थ्य संघले संसारभर थालेका यस खालका सेवा अधमरो बन्ने नौबत आएको थियो)। रिपब्लिकन
पार्टीका नेता र राष्ट्रपति पदका सम्भावित प्रत्याशीहरूको योग्यता र व्यक्तित्वको
मूल्यांकन गर्दा पनि ती पार्टी समर्थकहरू उसको इशाई धर्मप्रतिको प्रतिवद्धता र
काबिलियतलाई बढाइचडाइ (ग्लोरिफाइ) गर्न मन पराउँछन् । तर,
डेमोक्र्याटहरूको उमेदवारितामा, उसको धर्मप्रतिको अति लगावलाई भए पनि प्रचारमा
ल्याउन खोजिँदैन । डेमोक्र्याटहरूका लागि यस्तो कुरा लज्जाजनक (स्टिग्म्यटिक) समेत हुन सक्छ । यसको
मुख्य कारण हो, डेमोक्र्याट पार्टीले आँफूलाई धार्मिक कट्टरपन्थका बिरूद्ध उदारवादी
अल्पसांख्यिकताको पक्षमा अडिग उभिने पार्टी हो भन्ने खालको आफ्नो परिचय देखाइरहन
चाहनु ।
तर, अमेरिकामा डेमोक्र्याट पार्टीबाट ३९ औँ राष्ट्रपतिको रूपमा
निर्वाचित ( १९७८- १९८१) जेम्स ( जिम्मी ) कार्टर
आफ्ना धार्मिक रूझान र अडानमा अलि बेग्लै देखा परे । बाह्य रूपमा
क्याथोलिसिज्मको खुल्ला वकालतमा नउत्रे पनि उनको अन्तस्करण सायद क्रिश्चियन
मान्यताबाट (भ्यालुज) बढी नै प्रभावित र निर्देशित थियो कि ! भन्ने ठानिन्छ। उनको
एउटा नेपाल टिप्पणी खास महत्वको थियो । उनी उनको पार्टीगत अडानहरू भन्दा बाहिर
निक्लेर नेपालको तत्कालीन सन्दर्भमा एकदमै अपत्यारियो धार्मिकता सम्बन्धी टिप्पणी
गरेका थिए । उनले नेपालमा त्यतिबेला कायम रहेको पञ्चायती व्वस्थामा प्रजातन्त्रका
सबै आधारभूत गुण रहेको र पूर्ण भए पनि, पञ्चायतले धार्मिक स्वतन्त्रता मात्र
नदिएको र अलिकति अपूर्णता बाँकि देखिएको टिप्पणी गरेर उनका परम्परागत प्रजातन्त्रवादी नेपाली समर्थकहरूलाई हिस्स
पारिदिएका थिए । त्यतिबेला नेपालमा प्रतिवन्धित नेपाली कांग्रेस पार्टीले पश्चिमा
मुलुकका डेमोक्र्याट र सोसल डेमोक्र्याट पार्टीहरूलाई आफ्ना मित्रहरू मान्थ्यो । यो
पार्टीलाई पनि कार्टरले पञ्चयाती व्यवस्थालाई ‘प्रजातन्त्र’ का लागि दिएको ‘क्लिन
चिट’ ले खिन्न पार्नु स्वाभाविक थियो । पञ्चायती सरकारको मिडियाले कार्टरको धर्म
सम्बन्धी टिप्पणीलाई खासै चर्चा नगरी, बाँकि कुरालाई निकै महत्वका साथ प्रचार
गर्नु श्रेयस्कर मान्ने नै भयो र सो गर्यो । यो , एउटा सन्दर्भ र प्रतीक हो ।
विश्वविद्यालय अध्यापनबाट जर्जिया राज्यको गभर्नर हुँदै अमेरिकी राजनीतिको सर्वोच्च स्थानमा आइपुगेका जिम्मी कार्टर अमेरिकामा त्यति सफल
राष्ट्रपति हुन सकेनन् । फलस्वरूप उनले सामान्यतया हरेक राष्ट्रपतिले चाहने दोस्रो
कार्यकालका लागि चुनाब लड्दा पूर्व हलिवुड हिरो रोनाल्ड रेगन (रिपब्लिकन) संग
नराम्ररी हारे । राष्ट्रपति पदमा पराजित भए पनि, तिनै जिम्मी कार्टर संसारका बिभिन्न
मुलुकहरूमा शान्ति दूत बनेर गैर सरकारी तवरले सकृय रहिरहेका छन्, अद्यपि । यो
अवश्य संयोग मात्र पक्कै नहुन सक्छ, कालान्तरमा तिनै कार्टर आफ्नो त्यो टिप्पणीको
अढाइ दशक पछि, पहिलो र ऐतिहासिक संविधानसभा निर्वाचनको अनुगमन गर्न नेपाल आए । नेपालमा
सम्पन्न पहिलो संविधानसभा निर्वाचनलाई काठमाण्डुबाट अनुगमन गरी क्लिन चिटको वैधता
दिने काम गर्ने पहिलो अन्तर्राष्ट्रिय संस्था कार्टर सेण्टर र प्रतिष्ठित व्यक्ति
जेम्स ( जिम्मी ) कार्टर नै थिए । यस पछि, माओवादी पार्टीलाई अमेरिकाले राखेको
आतंककारी समूहहरूको सूचिबाट हटाउन लगाउने कुरामा पहल गर्ने वाचाका साथ उनी अमेरिका फर्केका थिए । यी सबै
घटनाक्रमहरू उनको विश्व शान्ति प्रतिको सकृयता वा सदाशयी संयोग मात्र थिए कि त्यो
भन्दा अझ बढी थिए, धेरै अड्कल काट्न सकिन्छ
। पश्चिमा संसारको नेपाल नीतिका बारे कुरा गर्दा कार्टर एउटा विम्ब भएर पनि
देखा पर्न सक्छन् । ( क्रमश: ….)
No comments:
Post a Comment