कल्पनाको अमूर्त रजतपटमा
पोतेर सपनाका सुनौला रङगहरू
म जीजिविषाको त्राण खोजिरहेछु
आकांक्षामा उकेराको प्राण रोजिरहेछु
रङ्गका यी अजस्र केस्राहरूमा
जिन्दगानीको कृत्रिम सार रचिरहेछु
खोज्दैछु तर नदेखिने आकृतिहरू
गिज्याउँदै छन् मेरो सामर्थ्यलाई, र
दृश्य-अदृश्यको लुकामारी हेरिरहेछु
लत्रेका रङसंगै ,कुचिका कसिंगरहरू
अमूर्तताको शून्य आकृति लेखिरेहछु,
यो मिसावटबाट-रङ्गको रङ्गसंग
खै कुन र कस्तो आकृति रोजिरहेछु ?
ध्यानस्थ मेरो मानसपटमा
अभीप्सा औ जुगुप्सका ज्वारहरूबीच
निर्लिप्त नभेटिने क्षितिज खोजिरहेछु
अपनत्वका श्वरहरूको आगमलाई
रोकेर, सान्त्वना निर्वाण रचिरहेछु
तिमी भनौला, यो रचनागर्भ
आत्मवञ्चनाको परिहास हो,
स्वयं र आफ्नाहरूको भीडमा
आफ्नै छायाको पदचाप छल्दै
अनवरत म गतिमान दौडिरहेछु
स्वयं आँफैबाट छल्दै , छलिँदै
अमूर्त सपनाका आकारहरू खोज्न
म एक तमासको अर्थहीन दौड कुदिरहेछु ।
-कृष्ण पौडेल
1 comment:
कालान्तरमा शायद, अब्यक्त यस्तो हुनेछ;
कल्पनाको अमूर्तता
आज मूर्त भएको छ,
जीन्दगीको सार
प्राकृत लयमा बगेको छ,
सबै रङ् छोडि
द्व्येत पनि हटेको छ,
अभीप्सा र "स्वयम्" हराएको छ
क्षितिज देख्न थाले,
आत्मवञ्च अनुभूत भयो
र,
गति आज थिर भएको छ ।।
.................
कृष्ण सर, यस्तो होस्, मेरो कामना। अरु पनि पढ्न पाइयोस् तपाइका आत्मगुञ्जन। तपाइको भावनामा तरङ्गित हुने मजस्ता थुप्रै होलान्।
Post a Comment