-कृष्ण पौडेल
यतिबेला नेपाल बाबुराममय भएको छ । यसो त देशमा बाबुरामहरू कति छन् कति, तर चर्चाका डाक्टर बाबुराम नम्बरी सुनको पनि १ नम्बरी मानिएका छन् , उनी माओवादी पार्टीबाट प्रधानमन्त्री बनेका हुन् र यो त्यही पार्टी हो जसले मुलुकलाई १३ वर्ष रगतपच्छे पार्दै त्यही लिस्नो चढेर सत्ताको मचान चढ्न आइपुगेको हो , तर बाबुराम माओवादी भन्दा बाहिर राखिएर बुझिए जस्ता देखिने पात्र बनेका छन् । उनी माओवादी हिंसा र समस्याभन्दा बाहिर राखेर महिमामण्डन गरिएका देखिन्छन् । उनले बन्दूक बोकेर कसैको सफाया गरे-गरेनन् तर त्यसको नेतृत्व तहमा रहँदा लाग्ने कल्मषको दोषबाट पनि उनी बाहिर देखिएका छन् अथवा देखाइएको छ । विशेष गरी , माओवादीलाई शान्ति र संविधानसभाको बाटोमा ल्याउने योजनाकार मानिएका बाबुराम , माओवादीले शान्ति प्रकृयामा आइसकेपछि लिएको बाटोमा सहमतीय राजनीतिको पक्षमा उभिने सीमित नेताहरू मध्ये पर्छन् भनिन्छ।
सहमति, शान्ति र संविधान भन्दै माओवादी पार्टीभित्र बसेर एक्लै कराइरहने बाबुराम , बहुमतको पनि अनौठो समीकरणीय घोडा चढेर प्रधानमन्त्री पदमा आसीन हुन आइपुगेका छन् , यो उनको आफ्नै अडानमाथिको विडम्बना हुन सक्छ । तर , 'अन्त भला त सब भला' भन्ने भनाइ अनुसार , प्रधानमन्त्री बन्न कै लागि सहमति वा बहुमती के हो त्यसको फेहरिस्त बताइरहनु पर्दैन किनभने बाबुराम प्रधानमन्त्री बनिसकेका छन् , एउटा अध्याय यहीँ सकिएर अर्कोको थालनी पनि भैसकेको छ ।
गाउँको एउटा निम्नमध्यम परिवारमा जन्मेका जेहन्दार र मेधावी बाबुराम , आफ्नो विशिष्ट अग्रतायुक्त पढाइ र विद्वताका कारण बढी चिनिएका छन् । तर उनको उच्च शिक्षासंग जोडिएको भारत र त्यहाँका शैक्षिक संस्था र व्यक्तित्वसंगको उनको निकटतालाई नै प्रयोग गरेर उनको फरक छवी र कदलाई अक्सर होच्याउने गरिन्छ । यसरी होच्याउने र तुच्छ्याउने काम उनको दलभन्दा अलग बिरोधी दलहरूले गरेको नभएर , स्वयं उनकै पार्टीका ,विशेष गरी, शीर्ष नेतृत्व तहदेखि नै उनलाई भारतको विश्ववासपात्रको रूपमा छवी दिलाइएको छ । बाबुरामको शीर्षसत्तारोहणमा पनि स्वयं माओवादीले भारतीय संस्थापन पक्षको इशारामा नाच्ने भनेर आरोप लगाइएका मधिशे मोर्चाका बिभिन्न घटकहरू सहयोगी बन्न आइपुगेका छन् । यो कुरालाई केवल एउटा नियमति आकस्मिकता हो भनेर मान्न कोही तयार छैन ।सरकार निर्माणको मसला, कारिगरी र डिजाइन लुकेको छैन , यसपाला पनि, जस्तो अक्सर हाम्रोमा हुने गर्छ ।
नेपाली राजनीतिको बिगत ४,५ वर्षे संक्रमणकालको एउटा विशेषता देखिएको छ - प्रधानमन्त्रीको जागिर धेरैले अघाउञ्जेल खाए तर मुलुकको दीगो हित हुने कामको सिन्को कसैले भाँचेनन् । सिधा, स्वच्छ , इमान्दार र वौद्धिक व्यक्तित्वका धनी बाबुराम अब त्यो कसैले पूरा गर्न नसकेको अभिभारा बोक्न आइपुगेका छन् । शान्तिको हलो उनकै पार्टीले ढुङ्गामा अड्काएर रोकेको छ , संविधान लेखनमा पनि बिमतिको खात ज्यूँका त्यूँ छ र उता संविधानसभाको आयू कति थप्दै जाने भन्ने कुराको लिगलिग कोटको डिल सामुन्ने खडा छ । जसले जे भने पनि बाबुराम कै पार्टी माओवादीले 'अब त अति भयो अब मनैदेखि शान्ति र संविधानका लगि लाग्छौँ' भन्ने चाह्यो भने मात्र बाबुरामको कार्यकाल सफल बनाउन र नेपाली राजनीतिको अनिश्चय हटाउन सक्छ । तर बाबुरामको प्रधानमन्त्रीय कार्यकालको कुरो गर्दा , उनकै पार्टीको भूमिका कस्तो रहने हो भन्ने प्रश्नलाई अहं मानिएको देखिन्छ र त्यही निर्णायक हुन सक्छ ।
भिजन भएका , स्वच्छ छवीयुक्त , बौद्धिक, धेरैले मन पराएका जनमतले पनि पत्याएको मानिएका, शान्ति ,संविधान र सहमतिका लागि माओवादी भित्रबाट आवाज उठाउने सीमित नेता मध्ये एक , एकपटक प्रम बनाएर हेर्नै पर्ने व्यक्ति पनि भएको हुनाले उनको कार्यकाल सफल र धेरै हदसम्म सर्वग्राह्य हुनसके नेपाली राजनीतिमा जनताको सकारात्मक आशा अकारण मर्न पर्ने थिएन कि भन्ने हो । शुभकामना र बधाइ छ , बाबुरामजी !
No comments:
Post a Comment