( आज २५ असार २०६९ को नागरिक पत्रिकामा आजभन्दा साढे ३ वर्ष अघि संयुक्त अरब इमिरेट्समा अर्को नेपालीबाट मारिएका http://nagariknews.com/news-highlights/139-highlights/43184-2012-07-09-02-11-56.html गणेश बस्नेत र उनका वृद्ध मातापिताको करूण कथा छापिएको छ । यो समसामयिक नेपाली जीवनको एउटा प्रतिनिधि कथा हो । यो पढेपछि, उब्जिएका केही उद्वेलित भावना मात्र यहाँ पोखिएको हो - कृष्ण पौडेल )
मेरा बा,चाउरे अनुहार,फोरा उठेका हत्केला र खिल बोकेका पैताला हिँड्छन्
नदारद छन् उनी, जीवन, उत्पत्ति र प्राप्ति अप्राप्तिका लेखाजोखाको झण्झटमा
अभाव, अप्ठ्यारा र जीवनमा नपाएका अवसरलाई भाग्य र कर्मको खेल मानेर
आफ्नै नसीब धिक्कार्दै पनि उनी हाँसेकै छन्, जिन्दगीलाई नियतिको झेल ठानेर
मेरी आमा कुनै खाडीको शेखका लागि काम गर्ने केही थान बच्चा जन्माउँछिन
किशोर वय नटेक्दै म, मेरो भविष्य खोज्न शुष्क मरूभूमिमा पौडिनु पर्नेछ
असफल मेरा मातापिता, उनैका अपूर्ण सपनाहरू म भित्र अपलक खोजिरहन्छन्
यसरि, म नजन्मिँदै थाहै नपाएका व्यग्र अभिलाषाहरूको असामी भैसकेको छु
मेरा भाइ-बहिनी मेरै यायावर जीवनको पराक्रमी पँखेटामा विचरण गर्न खोज्छन्
अतिरिक्त मेरै आकांक्षा र कहिल्यै बिपना हुनै नमान्ने सपनाको बाली भर्न
मलाई थाहा छैन, अनेकौँ अपेक्षाका भारी बोकेर यन्त्रवत् मेरा पाइलाहरू चल्नुपर्छ
हुनसक्छ, कुन गन्तव्यरूपी बलौटे ढिस्काहरूमा ऊँटको पिछा गर्दै बिलीन हुनेछन् !
मेरै निम्ति जन्मँदाका बखत मेरी आमाले सजाएका अश्रुजनित सपनाहरू
प्रस्रव पीडाको अजस्र भारमा पनि लुकेका उनका ममताका मद्दिम आशाहरू
कठै, मेरा बुबाले लगानी न्यौछावर गरेका उनका रसिला आँखा र भरोसाहरू !
मरूस्थलको हावाले सिर्जना गर्ने र भत्काउने ढिस्का झैँ चलायमान छन्
अनवरत बन्दै बिग्रँदै , स्व-विसर्जनको खेलमा म मेशिन झैँ गतिमान छु।
यता मेरो नेता, हरेक दश वर्षमा मेरो निम्ति एक थान क्रान्ति कोरल्छ
मलाई हरदम् बलीदानीपूर्ण गाथाका सूत्रहरू पढाउँदै, ऊ उत्प्रेरित गरिरहन्छ
तिमी ‘एउटा सर्वहारा, सबै तिरबाट हारेको अर्थहीन मूल्यबिहीन अस्तित्व हौ’
भनिरहन्छ, ‘तिमी हार्दा केही जाँदैन, जित्दा सारा व्रम्हाण्ड तिम्रो आफ्नै हुनेछ’
म इन्धन हुँ ,सबै कल्पना र आकांक्षाहरूको कारखाना मैले नै चलाउनु पर्छ
म कोइला हुँ सायद, म आँफू जलेर असंख्य चम्किला बत्तिहरू जलाउनु पर्छ।
म अवाक जुधिरहन्छु असमञ्ज्स आफ्नै अस्तित्वको यो बोझिलो प्रश्नसंग
म आफ्नै जीवनका यावत बितरागी समस्याले आक्रान्त एक कमजोर पात्र हुँ
भो, म यो व्रम्हाण्डको बोझ बोकेर मरूस्थलभरि, ऊँटको पिछा गर्न सक्दिन
म यो संसार बोकेर मेरा परिवार र आफ्नैहरूका अपेक्षामा उकेरा भर्न सक्दिन
म सक्दिन सदैव, मेरा आफ्नैहरूका असंख्य स्खलित सपनाहरूको मलामी हुन ।
हे, मलाई चारू बनाई, क्रान्ति-यज्ञमा आफ्ना महत्वाकांक्षाको झोली भर्न खोज्नेहरू
हे, म नजन्मिँदै मेरो भ्रूणभित्र असंख्य अपूरित इच्छाका मसला भर्ने विधाताहरू
मलाई कहिल्यै आँफैले देख्न नसकेका मेरो अनंकूरित रहरका मुनाहरू पनि खोज्न देऊ
मलाई पैताला अटाउने थोरै जमिन र मैले चियाउन सक्ने थोरै क्षितिज हेर्न देऊ
म निस्सासिएको छु, विस्मयको भारी बोकेर नजन्मिँदैदेखि म सन्तप्त जलिरहेको छु
मलाई यो निस्वास फ्याँकेर, शीर उठाई एक छिन बाँच्न अलिकति उन्मुक्त आकाश देऊ!