Monday, July 6, 2015

सच्चा दाताहरू प्रचारमा आउन मन पराउँदैनन्

मेरा एकजना पाका विद्वान मित्र हुनुहुन्छ । ८० वर्ष उत्तरार्द्ध वहाँ एउटा कण्भेण्ट कलेजको प्रिन्सिपल पदबाट अवकाश प्राप्त बनेको १५-२० वर्ष भन्दा बढी भयो । धेरै सामाजिक कार्यमा सम्बद्ध वहाँको अवकाश प्राप्त जीवनको एउटा काम आफ्नो इमेल लिष्टमा रहेका मित्र समूहको इनबक्समा हरेक बिहान ४ वटा अलग अलग विषयका इमेल पठाउनु पनि हो । यी सबै इमेल अंग्रेजी भाषामा लेखिएका रमाईला, हँस्याइला, प्रेरणादायक, ईश्वरभक्तियुक्त र ज्ञानवर्द्धक हुने गर्छन् । यो नित्य कर्म वहाँले, बिदामा बिदेश घुम्दा वा बिरामी भएर अस्पतालमा रहँदा पनि गरिरहनु भएको छ, केही असामान्य अपवाद बाहेक। हिजो प्राप्त एउटा इमेलमा लेखिएको एउटा सामान्य सुनिने एउटा विशिष्ट किस्सा ( यथार्थ)  शेयर गर्न आवश्यक ठानेको छु । यो वहाँको उद्धरणमा छ, यस प्रकारः

‘केही वर्ष अघि हामी इटालीको सुन्दर नगरी भेनिस घुम्न गएका थियौँ । एक दिन, एउटा राम्रै देखिने रेष्टुरेण्टमा कफी पिउन पस्यौँ, एउटा टेबुलमा बस्यौँ (बस्ने कुर्चीमा भए पनि यसो भनिन्छ) र कफी अर्डर गर्‍यौँ र केही बेरमा पिउन पनि थाल्यौँ । हाम्रो नजिकैको टेबुलमा एकजना मान्छे आयो, दुईटा कफी अर्डर गर्‍यो र भन्यो ‘वन कफी टु द वाल’ । वेटरले एउटा कफीको कप ल्याएर त्यो मान्छेलाई दियो अनि एउटा रसिद नजिकैको सिसाको पर्खालमा टाँस्यो । केही बेरमा सो मान्छे त्यहाँबाट हिँड्यो, तर उसको टेबुलमा अरू दुई जना मान्छे आएर फेरि बसे । अचम्म, तिनीहरूले पनि तीन वटा कफी मागे, वेटरले दुईटा कप ल्यायो र एउटा रसिद फेरि त्यही सिसाको पर्खालमा लगेर टाँस्यो । हामी अचम्म परे पनि आँफू बुद्धु ठहरिने पो हो कि भन्ने ठानेर त्यो कुरा के थियो कसैलाई सोधेनौँ ।

एक हप्ता लामो इटाली बसाइमा, बाँकि ठाउँको घुमाई पछि हामी फेरि भेनिस फर्कियौँ र साँझ त्यही रेष्टुरेण्टमा कफी पिउन गयौँ । अचानक, त्यहाँ सामान्य भन्दा निकै गरीब जस्तो देखिने जिङ्ग्रिङ्ग कपाल पालेको,थोत्रा र टालेको जस्तो देखिने कपडा लगाएको एक जना मान्छे प्रवेश गर्‍यो र वेटरसंग ‘ प्लिज, वन कप अफ कफी फ्रम द वाल’ भनेर माग्यो । वेटरले उत्तिकै सम्मानपूर्वक उक्त ग्राहकको सेवामा एक कप कफी टक्र्यायो अनि सिसाको पर्खालबाट एउटा रसिद निकालेर च्यात्दै ‘रबिस बिनमा’ फाल्यो । हामीले बल्ल ‘ वन कप टु द वाल’ को रहस्य बुझ्यौँ । दाताहरू र सहयोगी अदृस्य थिए तैपनि सहयोग कतै बाँडिएको थियो, यो तरिकाको दानले हामीलाई प्रभावित नपार्ने कुरै थिएन’।


च्यारिटी, फिलान्थ्रोपी वा दान पनि आजकल टूलो तामझामयुक्त प्रचारको विषय बनेको छ, ठूलो महोत्सव बनेको छ तर यसको सार कहाँ पुगेर कस्तो रूपमा वितरित बनेको होला यसै भन्न सकिन्न । तर , दाताहरूले अदृष्य भएरै पनि आँफूले उपभोग गरिरहेको स्वाद र गासको सानो हिस्सा अरूलाई बाँडेर उपयोग गर्न मात्र सिके मानवता र धर्मले सार्थकता प्राप्त गर्न सक्थ्यो ।  केही कुराले हामी भाग्यमानी हुन सक्छौँ र यसका लागि हामी ईश्वरप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ भने , हाम्रो जत्तिकै भाग्यमानी स्थितिमा नरहेकाहरूसंग किन केही कुरा बाँडेर उपयोग नगर्ने त  ? यो भयंकर ठूलो र महंगो हुनुपर्छ भन्ने कुनै दर्कार पनि छैन नि !