Friday, August 14, 2009

गजल नेपाल

बेथितिको भेल आयो, आतंकको राज छायो
दुष्कर्मी र पापीले नै सत्कर्मीको भाग खायो ।

राम्रो गर्यो राम्रै फल्छ , भन्ने चलन हराएर
रित जाँदा , हेर आज धुरीबाट पाप करायो ।

जनताको नाम लिँदै , लाज सर्म पचाएर
क्रान्तिकारी कुरा गर्यो्, लुड्याउँदै भाग खायो।

बोक्सी आँफै धामी आँफै, ताण्डवको राज छायो
सभ्यताको बिहानीमा, दूर्दिनको मात लायो ।

बोल्नेको हो पीठो बिक्ने, यति जाने हुन्छ हजूर
जान्ने बुझ्ने छैनन यहाँ, दुष्टले त लाज खायो ।

म आस्थाको एउटा घण्टी बजाउँछु

सिंचेर आस्थाको मनले
सुम्पेर फूलपाति अभ्यर्थनामा
आफ्नै उहापोहमा निर्लिप्त
म, हरेक नया दिन
एक ईश्वर जन्माउँछु,
समर्पण बालेर बत्तिमा
अहोरात्र कामनाका दस्तूरहरू
लेखेर भोजपत्र औ पत्रदलमा
सिन्दूर र चन्दन सजाउँछु,
स्व -सिर्जनाको मेरो ईश्वर
मेरै सिर्जनाका कामनाहरू
अन्तर्भुक्त यो अन्तर्क्रिया !
अपलक , म पूजा रचाउँछु,
अनवरत एउटा ब्रम्हमुहूर्त
पवित्र, मसंग जागा हुन्छ
अनुनयको स्तुति लयमा
मेरो ईश्वर , म बनाउँछु,
नियति र नित्यपनको
पदचाप अगाडि बढाउँछु
अनुत्तरित छन् प्रश्नहरू
अष्पष्ट , शून्य छ आकाश
समाधिस्थ छ मन र सन्धान
तैपनि म एक , छाया सजाउँछु
म हरदिन आस्थाको घण्टी बजाउँछु ।